(१) नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये पैंतालीस प्रतिशत स्थान सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न देहायका समुदाय तथा व्यक्तिलाई आरक्षण गरी सो प्रतिशतलाई शत प्रतिशत कायम गरी देहायको प्रतिशतका आधारमा वितरण गरिनेछः–
(क) आर्थिक वा सामाजिक रुपमा विपन्नका लागि पच्चीस प्रतिशत,
(ख) महिलाका लागि तेत्तीस प्रतिशत,
(ग) अपाङ्गका लागि दुई प्रतिशत,
(घ) जनजातिका लागि सत्ताइस प्रतिशत
(ङ) दलितका लागि नौ प्रतिशत,
(च) पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिका लागि चार प्रतिशत ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि “पिछडिएको दुर्गम क्षेत्रका व्यक्ति” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरेको व्यक्तिलाई जनाउँछ ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिम आर्थिक वा सामाजिक रुपमा विपन्नका लागि आरक्षित पच्चीस प्रतिशत स्थान देहायका समुदाय तथा व्यक्तिलाई देहायको प्रतिशतका आधारमा वितरण गरिनेछः–
(क) मधेशीका लागि बीस प्रतिशत,
(ख) मुस्लिम समुदायका लागि दुई प्रतिशत,
(ग) बेपत्ता पारिएका व्यक्ति तथा शहिदको परिवार तथा घाइते वा निजको सन्ततीका लागि तीन प्रतिशत । स्पष्टीकरणः यस खण्डको प्रयोजनका लागि,
(१) “बेपत्ता पारिएका व्यक्ति तथा शहिद” भन्नाले जनयुद्ध, लोकतन्त्रका लागि सम्बत् २०६२÷०६३ मा सञ्चालन भएको जनआन्दोलन, मधेश आन्दोलन लगायत लोकतन्त्रका लागि मुलुकभित्र सञ्चालित सम्पूर्ण आन्दोलन वा क्रान्तिको क्रममा बेपत्ता पारिएको वा शहिद भएको व्यक्तिलाई जनाउँछ ।
(२) “घाइते” भन्नाले लोकतन्त्रका लागि सम्बत् २०६२÷०६३ मा सञ्चालन भएको जनआन्दोलनको क्रममा घाइते भई अधिकार
प्राप्त निकायको परिभाषा बमोजिम कम्तीमा ५० प्रतिशत अशक्त भई आजीवन अङ्गभङ्ग भएका व्यक्तिलाई जनाउँछ ।
(३) उपनियम (१) को खण्ड (ख) बमोजिम महिलाका लागि आरक्षित तेत्तीस प्रतिशत स्थानमध्ये तीन प्रतिशत स्थान दलित समुदायका महिला र दुई प्रतिशत स्थान मुस्लिम समुदायका महिलाका लागि आरक्षण गरिनेछ ।
(४) उपनियम (२) को खण्ड (क) बमोजिम मधेशी समुदायका लागि आरक्षित बीस प्रतिशत स्थानमध्ये तीन प्रतिशत स्थान मधेशी दलित समुदायका व्यक्तिलाई आरक्षण गरिनेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदाय वा व्यक्ति उपलब्ध नभएमा नेपालभित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गराइनेछ ।
(६) उपनियम (३) बमोजिम दलित समुदायका महिला र मुस्लीम समुदायका महिलाको लागि आरक्षित स्थानमा सम्बन्धित समुदायका व्यक्तिहरु उपलब्ध नभएमा त्यस्तो स्थान अन्य महिलालाई प्रदान गरिनेछ र उपनियम (४) बमोजिम मधेशी दलित समुदायको लागि आरक्षित स्थानमा सम्बन्धित समुदायका व्यक्तिहरु उपलब्ध नभएमा त्यस्तो स्थान मधेशी समुदायका अन्य व्यक्तिलाई प्रदान गरिनेछ ।
(७) यसनियम बमोजिम प्रतिशत निर्धारण गर्दा दशमलव पछि अङ्क आएमा देहाय बमोजिम गरिनेछः–
(क) दशमलव भन्दा पछि आएको अङ्कमध्ये सबैभन्दा बढी अङ्क ल्याउनेलाई एक स्थान थप गर्ने,
(ख) दशमलव पछिको अङ्क बराबर भएमा साधारण योग्यताक्रममा अगाडि रहेको उम्मेदवार भएको समुदायलाई एक स्थान थप गर्ने ।
उदाहरणको लागिः प्रतिशत निर्धारण गर्दा महिला तर्फ ५.५ प्रतिशत र अपाङ्ग तर्फ ५.२ प्रतिशत हुन आएमा महिला तर्फ ६ सिट र अपाङ्ग तर्फ ५ सिट कायम गरिनेछ । महिला तर्फ ५.५ प्रतिशत र अपाङ्ग तर्फ ५.५ प्रतिशत हुन आएमा साधारण योग्यताक्रममा जुन समुदायको व्यक्तिको नाम अगाडि रहेको छ सोही समुदायका लागि एक सिट थप गरिनेछ ।
(८) यस नियम बमोजिम स्थान वितरण गर्दा जुन शैक्षिक संस्था वा देशको लागि छात्रवृत्ति प्राप्त भएको हो सो शैक्षिक संस्था वा देशको लागि साधारण समूह तथा स्थान आरक्षित गरिएको समूह समाहित हुने गरी स्थान वितरण गर्नु पर्नेछ ।
(९) यस नियम बमोजिम आरक्षित गरिएको स्थान र साधारण समूहको लागि छुट्याइएको स्थानलाई प्रत्येक वर्ष समायोजन गर्न सकिनेछ ।
(१०) कुनै समूहको लागि छुट्याइएको स्थानमा सो समूहको दरखास्त पर्न नआएमा वा उम्मेदवार छनौट हुन नसकेमा त्यस्तो समूहलाई छुट्याइएको स्थान स्वतः साधारण समूहमा सर्नेछ।
(११) यो नियम प्रारम्भ हुँदाका बखत छात्रवृत्ति आरक्षणका सम्बन्धमा भए गरेका काम कारबाही यसै नियम बमोजिम भए गरेको मानिनेछ ।